विश्वविद्यालयको कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि छुट्टै आयोग गठन गर्न सुझाव
मंसिर २६, २०८१ | काठमाडौं
लोकसेवा आयोगले नेपालमा स्थापित विश्वविद्यालयहरूमा कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि विश्वविद्यालय सेवा आयोग गठन गर्न सुझाव दिएको छ ।
सबै विश्वविद्यालयमा विभिन्न तहका कर्मचारी भर्नाका लागि एउटा छुट्टै आयोगको आवश्यकता महसुस भएको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको भनाइ छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा आयोगका अध्यक्ष रेग्मीले विश्वविद्यालयहरुमा कर्मचारी भर्ना गर्नका लागि आयोग आवश्यकता रहेको सुझाउनु भएको हो । विश्वविद्यालयहरूमा विभिन्न कारणले पदपूर्ति लामो समयसम्म हुन नसकेकाले त्यस्तो आयोगको आवश्यकता परेको रेग्मीको भनाइ थियो ।
शिक्षक सेवा आयोग गठन गरिएजस्तै विश्वविद्यालय सेवा आयोग गठन गर्नुपर्ने उहाँले बताउनुभयो । राज्यव्यवस्था समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा दफावार छलफल गर्नुअघि लोकसेवा आयोगका पदाधिकारीसँग छलफल गरेको हो ।