समाज सुधारका लागि इमामहरुको भूमिका महत्वपूर्ण
पुस १७, २०८१ | नेपालगञ्ज
‘मुस्लिम धेरै छोरीहरु पढन चाहन्छन् । आफ्ना छोरीलाई विद्यालय पठाउनुस् उनीहरु केही बन्न चाहन्छन् । उनीहरुको साहस बन्नुस् उनीहरु सबै काम गर्न काबिल छन् ।’ बाँके खजुराकी किशोरी रहेमत जहाँ खाँले नेपालगञ्जमा आयोजित मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि इमामहरुको भूमिकाका बारेमा आयोजित कार्यक्रममा यसरी आवाज उठाएकी छन् । उनले अगाडि थपिन्, ‘तर अभिभावकहरु पढाउन चाहँदैनन् । अभिभावकलाई (धर्मगुरु) इमामहरुले सहजीकरण गरिदिनु पर्यो । त्यति भयो भने, हामीलाई उच्च अध्ययनका लागि धेरै सहज वातावरण बन्ने थियो ।’
सोमबार नेपालगञ्जमा भेला भएका मुस्लिम इमामहरुले आफ्नो अवस्था समाजले आफूहरुसँग खोजेको विषयवस्तु तथा आगामी बाटोका बारेमा छलफल गरे । कार्यक्रमका सहभागीहरुले मुस्लिम समुदायको समग्र रुपमा उत्थान गर्नका लागि इमामहरुलाई समुदायस्तरमा परिचालन गर्नु एकमात्र प्रभावकारी उपाए भएको बताए । उनीहरुले शिक्षाबाट सभ्य समाजको निर्माण हुने भन्दै मुस्लिम बालबालिकाको शिक्षामा लगानी जरुरी भएको जिकिर गरे ।
सहभागीहरुले इमामको काम मस्जिदमा प्रार्थना गर्ने मात्र नभएर सामाजिक शिक्षा, आर्थिक क्षेत्रमा आफ्नो आवाज राख्नुपर्ने बताए । समाजलाई जोड्नका लागि इमामहरुले आफ्नो भूमिका बढाउनुपर्ने तर्क राखे । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आयोगले समाजलाई जोड्नका लागि इमामहरुको भूमिका प्रभावकारी बनाउन पहल गरिरहेको बताउनुभयो । ‘सामाजिक कार्यमा हामी कमजोर भइरहेका छौँ । आयोग सिङ्गो मुस्लिम समाजको हो । सरकारले उपहार दिएको होइन् । एउटा आन्दोलनबाट पाएको देन हो,’ उहाँले भन्नुभयो, ‘यसमा सबै मुस्लिम समुदायको रगत पसिना छ । बल्ल २०७२ मा संविधानमा यो अधिकार स्थापित भयो ।’ सबै संवैधानिक आयोगमा सबै भन्दा पहिला सरकारसँग प्रश्न गर्ने आयोग मुस्लिम आयोग भएको उहाँले बताउनुभयो ।
मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्ने आफूहरुको माग रहेको अन्सारीले बताउनुभयो । उहाँले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरु गर्दै आएको सुनाउनुभयो । मुस्लिम आयोगको आयोजना तथा प्लान इन्टरनेश्नल तथा बाँके युनेस्को क्लबको सहकार्यमा गरिएको छलफलमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाहरुको शैक्षिक अभिवृद्विका लागि बाकेमा ५ करोड बराबरको बजेट भित्र्याएको बताउनुभयो ।
आगामी दिनमा पनि मुस्लिम समुदाय तथा यसभित्रका बालबालिका तथा युवा वर्गका लागि आगामी दिनमा नीतिगत सुधार तथा कानून निर्माणमा जोड दिनुभयो । ‘मुस्लिम समुदाय तथा यसभित्रका बालबालिका तथा युवा वर्गका लागि म संधै अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिवद्वता जनाउँछु,’ उहाँले भन्नुभयो, ‘साथै लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री भएको हैसियतले समग्र समुदायको उत्थानका लागि नीतिगत सुधारमा र कानून निर्माणमा जोड दिनेछु ।’
युवा अभियान्ता साहिल अन्सारीले मुस्लिम युवा तथा बालबालिकाहरुको अधिकार संविधानमा लेखेर मात्र नहुने त्यसको प्रभावकारी कार्यान्वयन भएन/भएको निगरानी आयोगले गर्नुपर्ने बताउनुभयो । ‘मुस्लिम समुदायका युवाहरु अहिले पनि उच्च शिक्षा पढ्दैनन् । घर चलाउनका लागि पढाई छाड्न बाध्य छन् । लागूऔषधको दलदलमा फसेका छन्’, अन्सारीले भन्नुभयो, ‘मुस्लिम युवाहरुलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउन जरुरी रहेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले मुस्लिम धर्ममा शिक्षा ग्रहणका लागि चीनसम्म जान सकिने कुरा उल्लेख गरेपनि धर्मका प्रचारकहरुले यसलाई समुदायस्तरमा बुझाउन नसकेकाले अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो । यसको समाधानका लागि धर्मको सही प्रचारका लागि इमामहरुको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
प्लानका प्रतिनिधि इर्साद अलि अन्सारीले इमामहरुले धर्ममा भएका राम्रा कुराहरुको प्रचार गर्नुपर्ने बताउनुभयो । इस्लाम धर्म समाजले जस्तो र सोचे जस्तो अप्ठ्यारो धर्म नभएको उहाँको भनाई छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साजिद अलि सिद्दिकीले मुस्लिम युवा तथा बालबालिका बारे प्रस्तुति दिनुभयो । उवेदु रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामहरुको भुमिकाका बारेमा प्र्रस्तुति दिनु भएको थियो । आयोगका प्रवक्ता मिर्जा अरसद वेगले कार्यक्रममा सहभागीलाई स्वागत गर्नु भएको थियो ।







