लिखु खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न उमाकुण्ड गाउँपालिकाको रोक
पुस १८, २०८१ | दोलखा
रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।
खोलामा निमार्णाधिन जलविद्युत आयोजनाले जथाभावी नदी उत्खनन् गरेर वातावरणमा असर गरेको भन्दै पालिकाले रोक लगाएको हो ।
पालिकाको गत पुस १५ मा बसेको कार्यपालिकाको बैठकले लिखु खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । जलविद्युत आयोजनाले जथाभावी खोला उत्खनन् गरेर वातावरण प्रभावित बनाएको स्थानीयको गुनासो बढेपछि तत्कालका लागि रोक लगाइएको गाउँपालिका अध्यक्ष सुनुवारको भनाई छ ।
लिखु खोलामा दुगड गु्रपले निर्माण गरिरहेका विभिन्न जलविद्युत आयोजनाले कानुन विपरित खोला उत्खनन् र प्राकृतिक स्रोतको दोहन गरेको भन्दै स्थानीयले पालिकालाई पत्राचार गर्र्दै आएका थिए । यस्तै, गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने लिखु खोला क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् र पर्यावरणमा असर गर्ने काम भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।