गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

माघ १५, २०८१ | कास्की
गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेश सभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइन्थ्यो ।
यसपटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । २०७४ माघ २२ गते गण्डकी प्रदेश सभाको पहिलो वैठक बसेको थियो । सोही दिनलाई नै प्रदेश सभाले स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।
२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शपथ लिनु भएको थियो । सोही दिन मन्त्रिपरिषद्को पहिलो बैठक समेत बसेको थियो । त्यस दिनलाई नै प्रदेश सरकारले स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।
स्थापना दिवसको अवसरमा फागुन ४ गते सरकारले प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको थियो । सो बिदा पनि यसपटकदेखि कटौती गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा माघ २२ मा गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश दिवस मनाउनेबारे शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले प्रमुख सचिव रघुराम विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सभाको परिसरमा मनाइने प्रदेश दिवसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।