बाग्मती प्रदेश प्रमुखद्वारा माघ १८ गते प्रदेशसभा बैठक आह्वान
माघ १६, २०८१ | हेटौंडा
बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले माघ १८ गते बिहान ११ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो ।
बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गर्नु भएको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन । बाग्मती प्रदेशसभामा ४ विधेयक दर्ता भएका छन् । प्रदेश सरकारले हाल ४ वटा विभिन्न संशोधन विधेयक दर्ता गराएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार आगामी अधिवेशन बैठकबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेश सभाको आगामी अधिवेशनमा पेस हुनेगरी प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो ।