अर्घाखाँचीमा वन्यजन्तुको आक्रमणबाट पीडितलाई राहत वितरण

फाल्गुन ५, २०८१ | अर्घाखाँची

अर्घाखाँचीको शितगंगा नगरपालिका–७ का तालबहादुर राना र चोपबहादुर गाहालाई केही महिना अघि भालुको आक्रमणबाट घाइते भए । उनीहरुले उपचार खर्चसहित वन्यजन्तुको आक्रमणमा परेको भन्दै डिभिजन वन कार्यालयबाट राहत पाएका छन् । 

रानाले ७९ हजार ५ सय रुपैयाँ र गाहाले ७३ हजार रुपैयाँ राहत पाएका हुन् । मानव–वन्यजन्तु द्वन्द्वले गर्दा उनीहरु सहित राहत पाउनेमा जिल्लामा १ सय १४ जना रहेका छन् । 

चितुवाले घरपालुवा जनावरलाई आक्रमण गरी घाइते बनाएको र मृत्यु भएका घरपरिवाले राहत पाएको डिभिजन वन कार्यालय प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले तीन आर्थिक वर्षमा भएको मानव–वन्यजन्तु द्वन्द्वमा १ सय १४ जनालाई १७ लाख ८१ ह्जार ५ सय रुपैयाँ राहत वितरण गरेको छ । जसमध्ये ७३ जनालाई सोमबारसम्म ११ लाख ५० हजार ५ सय रुपैयाँ वितरण भईसकेको छ । वन्यजन्तुबाट पीडितलाई बैंक खाताबाट वन कार्यालयले राहत उपलब्ध गराएको छ ।

घटनाको प्रकृति अनुसार राहत वितरण गरिएको श्रेष्ठले बताउनुभयो । धेरै वन्यजन्तुको आक्रमणबाट घरपालुवा जनावर परेका छन् । चितुवाले गोठमा भएको र वनमा चराउने बेला बाख्रा, खसीबोको, गाइभैसीलाई आक्रमण गरी घाइते र मृत्यु भएकाका परिवारलाई राहत वितरण गरिएको हो । 

बाख्राको लागि बढीमा १० हजारसम्म र भैसीको लागि बढीमा ६० हजार रुपैया“सम्म पीडित परिवारले राहत पाउँछन् । सबैभन्दा धेरै वन्यजन्तुको आक्रमणबाट शितगंगा नगरपालिकामा रहेका छन् । त्यहाँ भालुको आक्रमणबाट मान्छे घाइते हुन्छन् । 

रातिको समयमा चितुवाले बाख्राका खोर, गोठमा पसेर घरपालुवा जनावर माथि आक्रमण निरन्तर भईरहेको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका–२०८० बनेपछि लुम्बिनी प्रदेश सरकारले डिभिजन वन कार्यालय मार्फत राहत उपलब्ध गराएको हो ।


प्रतिक्रिया