हलेसी बजारका अग्नि पीडितलाई राहत जुट्यो

फाल्गुन ६, २०८१ | खोटाङ
हलेसी बजारका अग्नि पीडितलाई राहत जुट्न थालेको छ । खोटाङ उद्योग वाणिज्य संघले ५१ हजार र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले ४० हजार नगद नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकाको विपत कोषमा जम्मा गरी एकद्वार प्रणालीबाट अग्नि पीडितलाई राहत दिने निर्णयपछि नगरपालिकालाई नै राहत हस्तान्तरण गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताउनुभयो ।
उहाँका अनुसार वाणिज्य संघले नगरप्रमुख विमला राईलाई राहत हस्तान्तरण गरेको हो । आचार्यले भन्नुभयो, ‘नगरपालिकाले एकद्वार प्रणालीबाट राहत दिने निर्णय गरेअनुरूप हामीले पनि नगरपालिकालाई नै राहत हस्तान्तरण गरेका छौं ।’ त्यस्तै खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले पनि नगरपालिकालाई राहत बापतको ४० हजार रुपैयाँ हस्तान्तरण गरेको कोषका कोषाध्यक्ष युगसन किरातले बताउनुभयो ।
खोटाङ सेवा समाज हङ्कङले स्थापना गरेको प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगन्द्र राई सहितको टोलीले नगरपालिकाका लेखा अधिकृत नवराज कटवाललाई राहत हस्तान्तरण गरेको हो । त्यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिको दुई दिनको सेवा सुविधा, निजामती कर्मचारीको दुई दिनको, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलब कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपत् कोषमा जम्मा गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो ।
फागुन ५ गते नगरप्रमुख विमला राईको संयोजकत्वमा विपत व्यवस्थापन समितिको बैठक बसेर एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने र त्यसका लागि नगरपालिकाबाटै राहत संकलन सुरु गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
‘यसमा जनप्रतिनिधिको दुई दिनको सेवा सुविधा, निजामती कर्मचारीको दुई दिनको, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलव कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपत् कोषमा जम्मा गर्ने निर्णय गरेका छौं,’ गिरीले भन्नुभयो, ‘राहतका लागि इच्छुकका लागि क्यूआरकोड सहित आह्वान गरिएको छ ।’
आइतबार बेलुकी हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । पदमशेर राईको भान्छा कोठाबाट सुरु भएको आगोले राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा भएको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट भएको थियो ।
आगलागीबाट ऐरख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको, प्रकाशचन्द्र गिरी हलेसी दर्शन होटलको फलामको ट्रष्टले बनेको एक तले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख बराबरको नोक्सान भएको छ ।
यस्तै, भरणशेर राईको पारुहाङ होटल, चार तले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख बराबरको गरी सात करोड ३० लाख बराबरको धनमाल क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताउनुभयो ।