महाशिवरात्रि पाल्पाका शिवालय मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड

फाल्गुन १४, २०८१ | पाल्पा
महाशिवरात्रि पर्वका अवसरमा पाल्पाका शिवालय मन्दिरमा बुधबार बिहानैदेखि भीड लागेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको प्रसिद्ध सिद्धबाबा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनका अनुसार बिहान ३ बजेदेखि नै मुल मन्दिर खुल्ला गरिएको छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, र्धािर्मक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण भएकाले श्रद्धालुहरुको घुँइचो लागेको हो ।
भक्तजनले सहज रुपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । पाल्पाबाहेक रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने गर्छन् । ‘शिवको महिमा अपार,मूल मन्दिरको जिर्णोद्धार’ भन्ने नाराले सार्थकता पाउने गरी शिवरात्री पर्व मनाइने मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताउनुभयो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्था समेत गरिएको मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताउनुभयो । वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ ।
सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निगरानी गर्ने व्यवस्था मिलाइएको छ । सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको समितिका सदस्य विष्णुप्रसाद पाण्डेयले बताउनुभयो ।
गत वर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको र यस वर्ष ५० हजार बढी भक्तजनको उपस्थिति हुने समितिले जनाएको छ । प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार विगतमा भक्तजन २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष ४ वटा लाइनको व्यवस्था गरिएकाले १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मन्दिरमा दर्शन गर्ने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सःशुल्क बस व्यवस्थापन गरिएको छ । सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्नेगरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताउनुभयो ।
महाशिवरात्रि पर्वका अवसरमा नेपालकै सबै भन्दा अग्लो महामृत्युन्जय शिवमूर्ति बगनासकाली–८, बराङ्दीमा पूजाआजा र दर्शन गर्न पाल्पाका साथै छिमेकी जिल्ला स्याङ्जा, रुपन्देही, गुल्मी, नवलपरासी, कपिलवस्तुबाट समेत भक्तजनको घुँइचो लागेको छ ।
पाल्पाकै तानसेनको ठुटेपिपल शिवालय, बतासेडाँडा, प्रभास, अमरनारायण मन्दिर, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको छ । प्रभासमा कृषि मेलाका साथै सांस्कृतिक कार्यक्रम राखिएको छ । बयर, उखु खाने र किनमेल गर्नेको समेत भीड लाग्ने गर्छ ।