डढेलोले चार सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप

फाल्गुन २२, २०८१ | पाल्पा

पाल्पा संसारकोट डाँडा जंगल क्षेत्रमा विगत तीन दिनदेखि लागेको डढेलो बिहीबारसम्म पनि निभाउन सकिएको छैन । डढेलोले यसको सेरोफेरोमा रहेका चार सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप भईसकेको छ । 

जिल्लतस्थित डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वनको ६८ मध्ये ५० हेक्टर जंगलमा डढेलो लागिसकेको छ । ४८ हेक्टर क्षेत्रफल रहेको देउराली र ख्याहाको संयुक्त भारेखोला सामुदायिक वनको सम्पूर्ण क्षेत्र डढेलोले सकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङ्ले जानकारी दिनुभयो । यसैगरी ख्याहाकै मधुवन सामुदायिक वन उपभोक्ता समूहको १२० मध्ये ६० हेक्टर क्षेत्रफल डढेलोले सखाप पारेको छ । 

देउरालीकै वृन्दावन सामुदायिक वनको ३९ मध्ये १० हेक्टर क्षेत्रफलमा डढेलो लागि सकेको छ । ‘भौगोलिक विकटता र हावाहुरीका कारण नियन्त्रणमा लिन कठिनाई भएको छ,’ डिभिजन वनका सूचना अधिकारी तामाङ्ले भन्नुभयो, ‘बस्ती जोगाउने प्रयासबाहेक जंगलमा पुगेर निभाउन सकिने अवस्था छैन ।’ 

रिब्दीकोट गाउँपालिका–१ को ख्याहा र वडा नम्बर–२ को देउरालीको संसारकोट डाँडामा मंगलबार अपराह्न १ बजेदेखि डढेलो सुरु भएको हो । डढेलो पोखर डाँडा क्षेत्रबाट सल्किएको स्थानीयले बताए । हावाहुरी लागेकाले आगो निभाउन कठिनाई भएको रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडक अन्तर्गत उत्तर र दक्षिण भागको जंगल क्षेत्रमा भीषण डढेलो लागेको उहाँले जानकारी दिनभयो । सल्ला, खर, झारपात सुकेको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन कठिनाई भएको छ । 

तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि डढेलो नियन्त्रणका लागि खटिएको रिब्दीकोट गाउँपालिका–२, देउरालीका वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताउनुभयो । ‘हामीले मात्र गरेको प्रयासले जंगलको डढेलो नियन्त्रण लिन कठिनाई भयो,’ उहाँले भन्नुभयो, ‘बस्ती नजिक आयो भने दमकल, भाडामा पानी, स्याउला लिएर बस्ने गरेर जोगाएका छौंं ।’

देउरालीको पोखर डाँडामा बुधबार बेलुकी बस्ती नै जोखिममा परेको भए पनि जोखिममुक्त गराएको रिब्दीकोट–१, का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली सेना महिन्द्र दल गणका प्रमुख भुपेन्द्र गुरुङ्, प्रहरी प्रमुख नरेन्द्र चन्द लगायतको सुरक्षा निकायको टोलीले डढेलो लागेको क्षेत्रको अवलोकन गरेका छन् । 

डढेलो देउरालीबाट तानसेन नगरपालिका–१४, अर्गलीको माथिल्लो भेगतिर सरेको छ । यस भेगमा बस्तीको जोखिम छैन । खानेपानीको मुहान, टंकी, विद्युत् ट्रान्सफर्मर जोगाएका छन् । हावाहुरी चलेको र विद्युत् ट्रान्सफर्मरमा विद्युत सर्ट भएर निस्केको आगोले जंगलमा डढेलो सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया