रिंकु काण्डः ८ जना पक्राउ

फाल्गुन २३, २०८१
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् । यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो ।
यसैगरी, बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । यस्तै, अन्य चार जनालाई भने शुक्रबार बिहान लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताउनुभयो । उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न अन्यको खोजीकार्यमा प्रहरीको छुट्टाछुट्टै टोलीहरू परिचालन गरेको जनाएको छ ।