"कानून प्रभावकारी नहुँदा सहकारी संस्थामा समस्या"

फाल्गुन २४, २०८१ | धनकुटा

सहकारी नियमन र व्यवस्थापनको कानुन प्रभावकारी नहुँदा सहकारी क्षेत्रमा समस्या बढ्दै गएको गुनासो बढेको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले धनकुटामा आयोजना गरेको पालिकास्तरीय जनप्रतिनिधि तथा सरोकारवाला सम्बन्धी अन्तरक्रियाका सहभागीले यस्तो गुनासो गरेका हुन् । 

उनीहरुले समयमा नै कानून नबन्दा बचतकर्ताले समस्या भोग्दै आएको बताए । अन्तरक्रिया कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तोयोनाथ तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा संकट देखाएर चाबी लगाउँदैमा त्यस क्षेत्रमा देखिएका संकट समाधान हुन नसक्ने बताउनुभयो । 

सहकारीको अवस्था, अवसर, चुनौती, भावी कार्य दिशाबारे प्रस्तुति राखेका थिए । सहकारीलाई व्यवस्थित गर्न बचतकर्ता र सहकारी सञ्चालकहरु सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुबेदीले सहकारी संस्थाको नियमन, नियन्त्रण गर्न र तालिम दिलाउने सहकारी कार्यालय विस्थापित गरेपछि अझ संकट निम्तिएको बताउनुभयो । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सहकारी कानून, शिक्षा तथा अनुगमन नहुँदा समस्या हुने गरेको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी, सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेपी भुजेलले धारणा राख्नु भएको थियो । 

कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका उद्योग महाशाखा प्रमुख पदम बहादुर ठकुराठीले सहकारी संस्थाहरुमा देखिएका विकृति र विसंगतिको नियमन हुन थालेको र यसले मूर्त रुप लिन लागेको बताउनुभयो । 


प्रतिक्रिया