मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी

फाल्गुन २५, २०८१ | लमजुङ
सार्वजनिक रुपमा पिक जिपले मात्रै सेवा दिदै आएको मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म पहिलोपटक सार्वजनिक यातायातको रुपमा बस सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले सार्वजनिक यातायातका रुपमा बस सञ्चालन गर्ने निर्णय उहाँको भनाई छ ।
यातायातलाई व्यवस्थित, सुलभ र सरल रुपमा सञ्चालन गरी मनाङका वासिन्दा, आन्तरिक तथा बाह्य पर्यटक तथा कर्मचारीलाई सहुलियतपूर्ण यात्राको सुनिश्चित गर्न बस सञ्चालन आवश्यक रहेको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
यसअघि मनाङमा ५ सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुने गरेकाले यात्रुहरुले कष्टपूर्ण यात्रा गरिरहनुपरेको अवस्था रहेको छ । मनाङ सदरमुकाम चामेमा २०७५ चैत दोस्रो साता ४ पाङ्ग्रे मिनीबस पुगेको थियो । नेपाली सेनाले १० वर्ष लगाएर निर्माण गरेको सडक २०६९ सालमा सडक विभागलाई जिम्मा लगाएपछि मनाङमा पिक जिप गुड्न थालेको हो ।