पाथीभरा क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अखिल समन्वय गर्दै

फाल्गुन २६, २०८१ | ताप्लेजुङ
राजनीतिक दलको मिनी निर्वाचनको रुपमा हेरिने क्याम्पसमा विद्याथर्थीको स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । त्यसका लागि सोमबार क्याम्पसहरुले मनोनयन फाराम वितरण गर्दैछन् । मंगलबार मनोनयन दर्ताको कार्यक्रम छ ।
क्याम्पसहरुमा यतिबेला विद्यार्थी सङ्गठन त्यसैको तयारीमा रहेका छन् । ताप्लेजुङमा रहेका दुई मध्ये पाथीभरा बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी सङ्गठनदेखि माउपार्टी अहिले यसैमा केन्द्रित रहेको देखिन्छ ।
एमाले निकट अनेरास्ववियुले सोमबार उम्मेदवारको घोषणा गर्ने तयारी गरेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले बताउनुभयो । स्रोतका अनुसार सभापतिमा पब्लिक गुरुङ र सचिवमा अनिता हेल्लोकको नाममा सहमति भइसकेको छ ।
कोषाध्यक्षमा भने गृष्मा सामेखाम, लक्षुमन पौडेल र सनुजा गौतम मध्ये एक हुनेछन् । सोमबार बिहान नाम सार्वजनिक गर्ने कार्यक्रम भएपनि कोषाध्यक्षमा सहमति नभएका कारण दिउँसोलाई सारेको बताएको छ ।
यता, कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकटको अखिलबीच समन्वय भइरहेको छ । यी तीन सङ्गठनको समन्वयले नेविसंघलाई सभापति, अखिल क्रान्तिकारीलाई सचिव र नेकपा एस निकटको अखिललाई कोषाध्यक्ष लिनेदिने तयारी गरेका छन् ।
अन्तर सङ्गठन समन्वयको जिम्मेवारी पाएका नेविसंघका केन्द्रीय सदस्य विश्व नाल्बोले भने अहिलेनै त्यस्तो सहमति नभएको बताउनुभयो । ‘एमाले निकट अनेरास्ववियुसँग पनि सहमति हुन सक्छ र सबै सर्वसम्मतको सम्भावना पनि छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन हुने भयो भने चाँही तीन सङ्गठन मिल्ने सम्भावना रहेको छ ।’ एक्लैले पनि जित्ने दाबी नेविसंघको छ ।
यसअघि क्याम्पस सञ्चालक समितिको निर्वाचनमा काँग्रेस, माओवादी र नेकपा एस मिलेका थिए । त्यसैलाई निरन्तरता दिने तयारीमा माउ पार्टी रहेका छन् । नेविसंघले तिलकुमार जोगीलाई सभापतिको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ ।
तिलकुमार र राजिव माबोहाङ मध्ये एकलाई उम्मेदवार बनाउने विश्वले बताउनुभयो । प्रतिस्पर्धी उम्मेदवार लगायतलाई दृष्टिगत गरेर उम्मेदवार बनाउने तयारीमा नेविसंघ देखिएको छ । अखिल क्रान्तिकारीबाट सचिवमा राज गुरुङको नाम चर्चामा छ । पाथीभरा क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्यका लागि प्रतक्ष निर्वाचन हुनेछ ।
समानुपातिकवाट थप ७ जना आउनेछन् । जम्मा १५ सदस्यीय क्याम्पस स्ववियु समिति हुनेछ । ५ सय ७२ विद्यार्थी रहेको निर्वाचन समितिका संयोजक एवं उप प्राध्यापक युवराज बस्नेतले जानकारी दिनुभयो । जिल्लामा सिरिजङ्गा गाउँपालिका–१ सिनाममा पनि क्याम्पस रहेको छ । पाथीभरामा भने स्नातकोत्तर तहसम्मको अध्ययन हुन्छ ।