जनकपुरमा होली आज, मुख्यमन्त्रीलाई महामूर्खको उपाधि

चैत्र २, २०८१ | जनकपुर

मधेश प्रदेशको जनकपुर क्षेत्रमा शनिबार (आज) होली पर्व मनाईदैछ । १५ दिने धार्मिक माध्यमिकी परिक्रमाको अन्तिम चरण पञ्चकोशी परिक्रमा शुक्रबार बिहान मात्र भएकाले जनकपुरमा एकदिन ढिलो शनिबार होली पर्व मनाउन लागिएको हो । 

जनकपुरको मौसम बिहानैदेखि धुम्म रहे पनि होली पर्व खेल्नेहरुमा उत्साह देखिएको छ । १५ दिने धार्मिक परिक्रमा समापन भएको भोलिपल्ट मात्र जनकपुरमा होली खेल्ने परम्परा छ । गत वर्ष पनि जनकपुरमा अरु ठाउँ भन्दा ३ दिन ढिलो होली भएको थियो ।

यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप) ले आयोजना गरेको महामूर्ख सम्मेलनको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरेको छ । 

मधेशको स्वास्थ्य क्षेत्रमा रहेका बेथितिलाई हटाउन अग्रसरता लिएका कारण मुख्यमन्त्री सिंहलाई यस वर्षको महामूर्खको उपाधि दिइएको मिनापका अध्यक्ष प्रमेश्वर झाले जानकारी दिनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले मुख्यमन्त्री सिंहलाई महामूर्ख उपाधिबाट सम्मानित गर्नुभयो । साहित्यकार एवं गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ । 


प्रतिक्रिया