औरही घटनाः यादवद्वयमाथि पाँच दिनको म्याद थप

चैत्र १०, २०८१

सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, सिरहा जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । उनीहरू गत शुक्रबार साँझ पक्राउ परेका थिए । 

औरही गाउँपालिका–५ मा आउँदो चैत १७ गतेदेखि औरहीमा हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए । सो घटनामा पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध हिजो जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउनुभएको थियो । घटनामा संलग्न बजरंगी बाबाको भने खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया