जनकपुरका होटलमा भेटियो कीरा परेको मैदा

चैत्र ११, २०८१ | जनकपुर

धनुषाको धार्मिक शहर जनकपुरमा सञ्चालित होटलमा म्याद गुज्रिएका खाद्य वस्तु बिक्री विरतण भईरहेको पाइएको छ । बजार अनुगमनका क्रममा जनकपुरमा सञ्चालित होटलमा किरा परेको मैदा, म्याद गुज्रेको खाद्य वस्तु बिक्री वितरण भईरहेको पाइएको हो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका शाकाहारी होटलको अनुगमन गर्ने क्रममा मानव स्वास्थ्यलाई असर पार्ने अखाद्य वस्तु भेटिएको हो ।

मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले आइतबार राति जनकपुरका दर्जन बढी शाकाहारी होटलको अनुगमन गरेको थियो । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले जनकपुरका शाकाहारी होटलमा मापदण्ड अनुसार भान्सा कोठा सफा र व्यवस्थित नरहेको बताउनुभयो । उहाँका अनुसार हंसराज स्वीट, न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारमा अनुगमन गरिएको थियो । उहाँले हंसराज स्वीटबाट उत्पादन मिति उल्लेख नरहेको ११ प्याकेट मःम जफत गरेर नष्ट गरिएको बताउनुभयो । 

यस्तै, न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट कीरा परेको १० किलो मैदा जफत गरी नष्ट गरिएको साहले जानकारी दिनुभयो । 

धार्मिक सम्पदा जानकी मन्दिरकै वरिपरि रहेका यी शाकाहारी होटलहरु हुन् । मुख्यमन्त्री सिंहले जनकपुरका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासो आएपछि अनुगमन गरिएको बताउनुभयो । 

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहको भनाई छ । उहाँले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताउनुभयो ।


प्रतिक्रिया