सुरक्षा र घर माग्दै मुख्यमन्त्रीको शरणमा पीडित

चैत्र १२, २०८१
सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा अछुत भन्दै ज्यादती भोगेका पीडित दीपक मल्लिकले मधेश प्रदेशका मुख्यमन्त्रीलाई भेट्नुभएको छ । आफू असुरक्षित बनेको भन्दै सुरक्षाको मागसहित उहाँले मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेट्नुभएको हो । दलित अगुवासहित मल्लिक आज जनकपुरस्थित मुख्यमन्त्री निवास जानुभएको थियो । त्यसक्रममा उहाँले आफ्नो परिवारमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि कानुनी कारवाही अघि बढेपछि आफूहरु असुरक्षित बनेको बताउनुभयो ।
आफूलाई गाउँपालिका अध्यक्षका आफन्तहरुले अदालतमा गएर बयान फेर्न र मिलापत्र गर्न दबाब तथा धाकधम्की दिइरहेको भन्दै आफू लुकेर बस्न बाध्य भएको मल्लिकको भनाई छ । औरहीमा यहि चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए । यस घटनामा पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध गत शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउनुभएको छ् । घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ परिसकेका छन् भने बजरंगी बाबाको खोजी भइरहेको छ ।