बन्दीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया बालिकको मृत्यु

चैत्र ३०, २०८१ | तनहुँ
तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा शुक्रबार साँझ चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्युु भएको हो ।
फुपु दिदीको घर जाँदै गरेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीले बताउनुभयो । बालिका निक्कै बेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा घरबाट करीब ८ सय मिटर टाढा जंगलमा शव भेटिएको थियो ।
प्रहरीका अनुसार बालिकाको घाँटी र दाइने साप्रो नभएको अवस्थामा शव भेटिएको छ । यसअघि २०७४ फागुनमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ बाट सुरु भएको चितुवा आतंक पछिल्लो समय बन्दीपुर, आँबुखैरेनी, व्यास र शुक्लागण्डकीमा देखा परेको छ ।