सुर्तीजन्य नयाँ उद्योगलाई लाईसेन्स वितरण बन्द गर : उपभोक्ता जागरण अभियान

वैशाख ३, २०८२ | काठमाडौं
सरकारले सुर्तीजन्य पदार्थको नयाँ उद्योगलाई लाइसेन्स दिने तयारी गरेको विषयप्रति उपभोक्ता जागरण अभियान नेपालले आपत्ति जनाएको छ । उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले एक विज्ञप्ति जारी गर्दै सरकारले मदिरा, चुरोट र गुट्खाको नयाँ उद्योग खोल्न लाइसेन्स दिन लागेको भन्दै आपत्ति जनाउनु भएको हो ।
भण्डारीले स्वास्थ्यका लागि हानिकारक मानिएका वस्तु उत्पादनको अनुमति दिनु गलत भएको भन्दै नयाँ लाइसेन्स वितरण तत्काल बन्द गर्न सरकारलाई सचेत गराएको हो ।
अभियानले विभिन्न सञ्चारमाध्यममा आएका सामाचारलाई उद्दृत गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीको स्वार्थमा नयाँ उद्योगलाई लाइसेन्स दिने तयारी गरिरहेको दाबी गरेको छ ।
सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न सर्वोच्च अदालतले परमादेश समेत जारी गरेको अवस्थामा अदालतको अवहेलना हुने गरी त्यस्ता उद्योगलाई लाइसेन्स नदिन ध्यानाकर्षण अभियानले गराएको हो । आमउपभोक्ताको स्वास्थ्य र सम्पत्तिको संरक्षणमा सरकारलाई गम्भीर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सचेत गराउने अध्यक्ष मार्सेलीले बताउनुभयो ।
सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार भन्दा बढी नेपालीले ज्यान गुमाइरहेको तथ्यांक पेश गर्दै भण्डारीले लाईसेन्स वितरणको प्रक्रिया तत्काल रोक्न आग्रह गर्नुभयो ।
सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर, दम, मुटुरोग जस्ता दीर्घ रोगको उपचारमा खर्च हुने ठूलो धनराशीलाई बेवास्ता गर्दै केही सीमित उद्योगीलाई फाइदा हुने गरी यस्ता उद्योग खोल्ने अनुमति दिनु चिन्ताको विषय भएको उहाँको भनाई छ ।