सुखानीमा फेला पर्यो बैजनी कोइली

वैशाख ३, २०८२ | चितवन
इलामको सुखानीमा नयाँ प्रजातिको चरा बैजनी कोइली फेला परेको छ । नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले इलामको सुखानीमा नयाँ प्रजातिको चरा बैजनी कोइली फेला पारेका हुन् । नेपाल पन्छीविद् संघले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बैजनी कोइली फेला परेको जानकारी गराएको छ ।
गत चैत्र २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङ सहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाईमा रहेको सुखानी वन क्षेत्रका सो चरा देखेको थियो ।
गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिस तिमिल्सिना पनि संलग्न थिए ।
बिहान ११ बजेतिर देखा परेको सो चरा भ्वाइलेट कुक्कु भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरुले आफूले खिचेको चराको फोटो भिडिओहरु चैत्र २८ मा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
रेकर्ड कमिटीले स्वदेशी विदेशी चराविज्ञहरुको राय लिएर सो चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा.तुलसी सुवेदीले जानकारी दिनुभयो ।
अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको डा.सुवेदीको भनाइ छ ।
कुकुलिफर्म्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा नै पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ ।
विश्वमा यो चराका दुई उपप्रजाति सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी. एक्स. साइन्थोरिङ्कस भएको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ ।