आफ्नै रेकर्ड ब्रेक गर्न कामीरिता सगरमाथा आधार शिविरमा

वैशाख ४, २०८२ | काठमाडौं
आरोही कामीरिता शेर्पा कीर्तिमान आरोहणका लागि सगरमाथाको आधार शिविर पुग्नु भएको छ । ३१ औँ पटक आरोहण गरेर आफ्नै रेकर्ड ब्रेक गर्न उहाँ शिविर पुग्नु भएको हो । कामीरिताले यसपटकको वसन्तयाममा ३१ औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ ।
उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३० औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१ औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिनुभयो । आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको बताउनुभयो ।
सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको ७२ वर्षको अवधिमा ३० औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका स्थानीयवासी ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शक समेत हुनुहुन्छ । सन् १९९४ को मे १३ तारिखमा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नु भएका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।