पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, पाँच घाइते

वैशाख ८, २०८२ | पाल्पा

पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् । 

तानसेनबाट चापपानी खहरे खोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उकालो सडकमा जिप पछाडि हटेको र ब्रेकले नलागेर सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएका मध्ये एक यात्रुको टाउकोमा चोट लागेको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको स्थानीयले बताए । तानसेनदेखि २४ किलोमिटर भित्री कच्ची सडकमा दुर्घटना भएको हो । 

नियमित आउने जाने बाटो ढलान कार्य भईरहेकोले वैकल्पिक सडक प्रयोग गरेको र घुम्ती नमिलेकोले दुर्घटना भएको अनुमान प्रहरीको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया