पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

वैशाख १५, २०८२ | पाल्पा

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको जिप आइतबार राति दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

दुर्घटनामा स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेगामीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको रैनादेवी छहरा–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।

लु १ ज २३७७ नम्बरको जिपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु बुढा घाइते भएका छन् । घाइतेमध्य रेश्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जिप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् । उकालोमा ब्रेक नलागेर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया