पहिरोले कालीगण्डकी करिडोरको हिउँदे खोलामा सडक अवरुद्ध

वैशाख २०, २०८२ | नवलपरासी
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ हिउँदे खोला नजिकै सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत सो खण्डमा माथिबाट लगातार सुख्खा पहिरो खसेकोले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
पहिलो खस्ने क्रम नरोकिएकाले सडकमा खसेको ढुंगा पन्छ्याउन समेत समस्या भएको प्रहरीले जनाएको छ । बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा दाउन्नेमा बारम्बार सडक अवरुद्द हुँदा पछिल्लो समय यात्रुहरुले कालीगण्डकी करिडोरको सडक प्रयोग गर्दै आएका छन् ।
सो सडकखण्डमा पनि समस्या आएपछि यात्रुले थप सास्ती भोग्नु पर्ने भएको हो । गैंडाकोटबाट नवलपुरको पहाडी भू–भाग हुँदै पाल्पाको रामपुरसम्म सार्बजनिक सवारी सञ्चालन हुने गरेको छ भने निजी सवारी र यात्रुले पनि यही सडक प्रयोग गर्दै आएका छन् ।