फेकनको केन्द्रीय उपाध्यक्षमा रोशन खरेलको उम्मेदवारी

वैशाख २५, २०८२ | काठमाडौं
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनको केन्द्रीय उपाध्यक्षमा रोशन खरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । सार्वजनिक अपिल जारी गर्दै उहाँले फेकनको आसन्न महाधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी दिने बताउनु भएको हो ।
फेकनको उपलब्धीलाई विश्वस्तरमा लैजाने प्रतिबद्धतासहित उम्मेद्वारी घोषणा गर्दै उहाँले भावी योजना समेत सार्वजनिक गर्नुभयो । सन् २०१३ देखि फेकनमा सक्रिय सदस्य रहँदै आएका खरेल फेकनका कार्यकारी सदस्य पनि हुनुहुन्छ ।
लामो समयदेखि शैक्षिक परामर्शको पेशामा रहेका खरेलले अस्ट्रेलियाका कलेजसँग निकट रहेर विद्यार्थीहरुको उच्च शिक्षाका लागि सहजीकरण गर्दै आउनु भएको छ ।
खरेलले फेकनको संस्थागत सुधार र संस्थाको पारदर्शितालाई अझ बलियो बनाउँदै सदस्यको व्यवसायिक हितका लागि काम गर्ने योजना रहेको बताउनुभयो । कार्यकारी सदस्यमा रहँदा पनि आफूले सदस्यहरुका आवाजलाई कार्यसमितिमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दाबी छ ।
खरेलले आफू उपाध्यक्षमा निर्वाचित भए सदस्यहरुको सशक्तिकरण, सदस्यको वृत्तिविकासका लागि निशुल्क प्रशिक्षण र मेन्टरशिपका कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो कार्ययोजनामा खरेलले युवा र महिला सदस्यलाई अवसर सिर्जना मार्फत पेशा व्यसायमा टिकाउन पहल गर्ने उल्लेख गर्नु भएको छ ।
सिंगो संस्थालाई सबै सदस्यहरुका लागि आर्थिक स्वावलम्वनको संस्थामा रुपान्तरणमा जोड दिँदै आएका खरेलले फेकनलाई नयाँ उचाईमा लैजान अनेक कार्ययोजना बनाइरहेको बताउनुभयो ।
गेटवे ग्लोवल स्टडीका सञ्चालक समेत रहेका खरेल व्यवसायीमाझ लोकप्रिय मानिन्छन् । शैक्षिक परामर्शको क्षेत्रमा फेकन दोस्रो ठूलो संगठनका रुपमा परिचित छ ।