'श्रवणदृष्टिविहीनताका लागि समावेशी शिक्षा आवश्यक'

वैशाख २५, २०८२ | तिलोत्तमा
तिलोत्तमा, वैशाख २२ । श्रवणदृष्टिविहीनता भएका व्यक्तिका लागि समावेशी शिक्षामा पहुंँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । रुपन्देहीको बुटवलमा आयोजित सचेतनामूलक कार्यक्रममा उनीहरुका लागि हालसम्म सञ्चालन गरिएका कार्यक्रमको प्रभाव, श्रवणदृष्टिविहीनताको अवस्था, पहिचानका चुनौती तथा समावेशी शिक्षामा सरोकारवालाको भूमिकाबारे छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बहिरा महासंघका कार्यक्रम संयोजक शंकर सिंह चैसिरले जन्मजात श्रवणदृष्टिविहीनताको पहिचान, कारण र प्रारम्भिक लक्षणबारे जानकारीको अभाव हुँदा यस्ता बालबालिका शिक्षाबाट वञ्चित हुने जोखिम बढिरहेको बताउनुभयो । उहाँले यी लक्षण पत्ता लगाउन अभिभावकमा नै जागरुकता हुनुपर्नेमा त्यस्तो नभएकाले समस्या निम्तिरहेको उल्लेख गर्नुभयो ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार लुम्बिनी प्रदेशमा १ हजार ८६१ जना र रुपन्देहीमा २१६ जना श्रवणदृष्टिविहीन व्यक्ति छन् । तर, यो तथ्यांकमा भएको बदलाव बारे भने खोजी गर्ने निकाय समेत नरहेको चैसिरले बताउनुभयो । ‘तथ्यांकमा उल्लेखित संख्याभन्दा वास्तविक संख्या समुदायमा बढी छन्,’ उहाँले भन्नुभयो, ‘पहिचान र त्यही अनुसारको व्यवहारको कमी छ ।’
कार्यक्रममा सहभागी वक्ताले स्थानीय तहले यथार्थ तथ्यांक संकलनमा सक्रियता देखाउनुपर्ने र त्यही आधारमा समावेशी शिक्षामा नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
सन् २०१९ देखि नेपाल नेत्रहीन संघ रुपन्देहीको पहलमा, राष्ट्रिय बहिरा महासंघ नेपालसहित चार संस्थाको सहकार्यमा तिलोत्तमा नगरपालिका–मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा श्रवणदृष्टिविहिनता श्रोत केन्द्र स्थापना गरि श्रवणदृष्टिविहीन बालबालिकालाई ब्रेल लिपि, सांकेतिक भाषा, सञ्चार सीप लगायत सामग्री निःशुल्क प्रदान गर्दै उनीहरुको क्षमता अनुसार विद्यालय भर्ना गरिराखिएको समेत चैसिरले जानकारी दिनुभयो ।
यस्तो महत्वपूर्ण संरचना र सेवा सहज रुपमा उपलब्ध भए तापनि अभिभावक स्तरमा चेतनाको कमी र स्थानीय सरकारको सक्रियतामा कमी देखिएको भन्दै उहाँले यसका लागि सशक्त प्रचार प्रसार र अभिभावक शिक्षाको आवश्यकता औंल्याउनुभयो ।