महिला गोल्डकपको उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

वैशाख २५, २०८२ | मकवानपुर
हेटौंडामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबका भिड्दै छन् ।
दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दिउँसो ४ बजेबाट फाइनल खेल सुरु हुनेछ । फाइनल खेल अगाडि एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने दाबी गरेका छन् ।
पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले अट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए । एपीएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्ने गरी खेल्ने दाबी गरिन् । पुलिसका प्रशिक्षक भोला सिलकारले एपीएफ तुलनात्मक रुपमा आफूहरुभन्दा बलियो टिम भएपनि प्रतिस्पर्धामा उत्रने बताए ।
एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफ बलियो भए पनि आफूहरुले जित्ने गरी खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए । यो पटक एपीएफलाई रोक्ने आफूहरुको रणनीति रहेको पनि उनले बताए ।
पुलिसकी कप्तान निरुता थापाले यो उपाधि जित्ने गरि आफूहरु मैदान उत्रने बताइन् । प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै, एपीएफ सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कूटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो सिजनमा एपीएफ र पुलिसबीच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधि एपीएफले जितेको छ । केही दिन अघि नुवाकोट, लिग, इलाम, नेपालगञ्ज र लुम्बिनीमा भएको प्रतियोगिताको फाइनलमा दुई टोलीबीच प्रतिस्पर्धा भएकोमा एपीएफले सबै खेल जितेको छ ।