हेटौंडामा ट्रकको ठक्करबाट एकको मृत्यु

जेष्ठ ४, २०८२
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कर्रामा ट्रक र अटोको ठक्करबाट मोटरसाइकलमा सवार एक यात्रीको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
हेटौंडा बजारबाट पशुपतिनगरतर्फ गइरहेको ना ५३ प १२७४ नम्बरको मोटरसाइकललाई पशुपतिनगरतर्फबाट आइरहेको नम्बर नखुलेको अटोले ठक्कर दिएसँगै ना ६ ख १३७ नम्बरको १२ चक्के खाली ट्रकले समेत ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल पछाडि सवार पदमपोखरी-१२ का ५८ वर्षीय सीताराम विक घाइते भएका थिए । उनको उपचारको क्रममा शनिबार राति हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक घाइते राज विक र मृतक सीताराम बाबु–छोरा हुन् । ट्रक र ट्रक चालक तनहुँ ब्यास नगरपालिका—५ का ३७ वर्षीय सरोज श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
अटो र अटो चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएर अटो भागेको थियो ।