कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

जेष्ठ ५, २०८२ | विराटनगर
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२ ०८३ का लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम सोमबार (आज) प्रदेश सभामा प्रस्तुत हुँदैछ । सातौं अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले जानकारी दिनुभयो । सचिव अमात्यका अनुसार, सोमबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । सरकारले हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रमले समावेशी विकास, लगानी, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि तथा सहकारी क्षेत्रको सुदृढीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै, संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय र साझेदारीमा आधारित कार्यक्रम समेटिने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
यसअघि प्रदेश सरकारले केही ठूला आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ तथा बजेट कार्यान्वयनमा कमजोरी देखिएको भन्दै आलोचना खेप्दै आएको थियो । यो वर्षको नीति तथा कार्यक्रमले कार्यान्वयन योग्य र यथार्थपरक योजनाहरू ल्याउने दबाब पनि बढेको छ । नीति तथा कार्यक्रममाथिको छलफल र बहस भोलिदेखि सुरु हुने सम्भावना छ ।
विपक्षी दलहरूले प्रदेश सरकारको खर्च प्रणाली, पारदर्शिता र सुशासनमाथि प्रश्न उठाउँदै आएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएपछि त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिनेछ । नीति तथा कार्यक्रम प्रदेश सरकारको समग्र विकास दृष्टिकोण र प्राथमिकता झल्काउने महत्वपूर्ण दस्तावेज रहेको प्रदेश सरकारले जनाएको छ ।