कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी साइबर क्राइममा पक्राउ

जेष्ठ ६, २०८२

प्रहरीले विद्युतीय अपराध मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई बुटवलबाट पक्राउ गरेको हो । बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएपछि चौधरीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार हुनुहुन्थ्यो । उहाँ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो । रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो । चौधरीलाई पक्राउ गरी बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई हिजो पत्राचार गरेको थियो । 


प्रतिक्रिया