५ महिनादेखिको तालाबन्दीले संस्कृत विश्वविद्यालय अस्तव्यस्त

जेष्ठ ११, २०८२
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा पाँच महिनादेखि भैरहेको तालाबन्दी खुलाउने विषयमा आज घोराहीमा बृहत नागरिक अन्तक्रिया भएको छ । ताला खुलाउने बिषयमा पटकपटक वार्ता भएपनि ताला खुल्न नसकेपछि नागरिक समाज दाङले विश्वविद्यालयका पदाधिकारी, राजनीतिक दल, विद्यार्थी संगठन, प्रशासन र अन्य सरोकारावालाहरुको सहभागितामा छलफल गराएको हो ।
कार्यक्रममा सहभागी राजनीतिक दलहरुले ताला समस्याको दिगो समाधान नभएकाले वार्ता र छलफलबाटै समाधान खोज्नुपर्ने सुझाव दिएका थिए । विद्यार्थी संगठनहरुले विश्वविद्यालय माग पूरा गर्न तयार नहुँदासम्म ताला खोल्न नसकिने अडान लिएका थिए । माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले गत पुस १२ देखि केन्द्रीय कार्यालयको मुल गेटमा ताला लगाएको छ । यसैगरी फागुनदेखि अनुसन्धान केन्द्रको कार्यालयमा तालाबन्दी छ ।