सीप उत्सव २०८२ मा तीन युवा स्कील्स् आइकन्स घोषित

जेष्ठ ११, २०८२

युवालाई श्रमजन्य गतिविधिमा सम्मान भाव जगाउने उद्धेश्यका साथ विराटनगरमा आयोजना गरिएको सीप उत्सव २०८२मा तीन जना स्कील्स् आइकन्स् घोषित भएका छन् । औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अपे्रन्टिससिप तर्फका होटल म्यानेजमेन्ट, अटोमोबाइल तथा आईटी क्षेत्रका युवाबीच प्रतिस्पर्धा भएको हो । कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीबीच ३ जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् । उत्कृष्ट हुनेमा अटोमोबाइल तर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयका विवस कोइराला र आईटी तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ छन् ।

सीप उत्सव कार्यक्रममा वृत्ति परामर्श र विभिन्न पेशाकर्मीका सफलताका कथा, लगायत लाइभ ट्रेनिङ गराइएको थियो । कोशी प्रदेश भित्रका प्राविधिक व्यावसायिक शिक्षा र तालिम क्षेत्रमा सहभागी युवाबीच गराइएको प्रतिस्पर्धामा आधारमा छनोटमा परेका युवालाई सीप उत्सव २०८२मा सहभागी गराइएको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले बताउनुभयो । कार्यक्रमले युवाहरुमा सीप सिक्नका लागि पे्ररणा जागेको इन्स्योर परियोजनाका घनश्याम लिम्बुले बताउनुभयो । श्रम प्रति सम्मान भाव जगाउने उद्धेश्यको यो कार्यक्रम अझै परिष्कृत गर्दै जाने स्कील्स् आइकनका योजनाकार अजिप चापागाईले बताउनुभयो । उद्योग संगठन मोरङ तथा इन्स्योर परियोजनाले कार्यक्रमको संयुक्त आयोजना गरेको हो भने सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले समन्वय गरेको थियो । 


प्रतिक्रिया