लुम्बिनीमा दुई दिने बौद्ध आर्थिक शिखर सम्मेलन सुरु

जेष्ठ १७, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्क्रालयको सहकार्यमा सुरु सम्मेलनको शुत्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।
लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रित रहेर आर्थिक शिखर सम्मेलन गरिएको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसँग सम्बन्धित रहेर सात वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा करुणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको उनले बताए ।
प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको पनि उनले जानकारी दिए । 'लम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ,' मुख्यमन्त्री आचार्यले भने, 'लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।'
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्त्याउन प्रवर्धनात्मक कार्यक्रम बनाइरहेको बताए । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई छ । उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबीच समन्वय आवश्यकता औंल्याउँदै सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले पर्यटन प्रवर्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा सुविधाको आवश्यकता औंल्याए । उनले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने बताए । सूचना प्रविधिको उच्च प्रयोग गर्दै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारतीय पर्यटकको कार्यथलो हुनेगरी सेवा मूलक पूर्वाधारको आवश्यकता रहेको उनको भनाई छ । लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी भएको यसको प्रर्वद्धनका लागि अन्तर्राष्ट्रियस्तरमा प्रचार बढाउनुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धान सरकारका नीति योजनामा पर्ने गरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको बताए । लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै उनले प्रदेश सरकारसँग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको जिकिर गरे ।