पाल्पाको रिमिघामा यार्चागुम्बा जस्तै देखिने वनस्पति फेला

जेष्ठ १९, २०८२ | पाल्पा

पाल्पाको रिमिघा डाँडा (लेक) मा यार्चागुम्बा जस्तै देखिने वनस्पति फेला परेपछि गाउँपालिकाले अनुसन्धान अघि बढाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै प्रजातिको वनस्पति भेटिएपछि प्रयोगशालामा पठाउने तयारी गरेको हो ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रिमिघा लेकमा झाडी सरसफाई गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा यस्ता प्रजाति भेटिएका थिए । उहाँले भन्नुभयो, ‘सुरुमा एक दुई वटा यार्चा जस्तै देखिने प्रजातिका वनस्पति र तल्लो भागमा किराजस्तो देखिएपछि सोधपुछ भएछ ।’ अब स्थानीयलाई संकलन गर्न र जंगलजानसमेत रोक लगाइने भण्डारीले बताउनुभयो ।

डिभिजन वन कार्यालयले तत्काल वन कर्मचारीलाई खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । उहाँले प्रयोगशालामा नपठाईकन के हो ? भन्ने आधिकारिक थाहा हुन नसक्ने बताउनुभयो । ‘हेर्दा उस्तै देखिएको छ, मैले पनि फोटोमा हेरे,’ उहाँले भन्नुभयो, ‘तर प्रयोगशालाको रिपोर्ट नआइकन आधिकारिक के रहेछ भन्न सकिदैन ।’ रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाईमा रहेको छ ।

यार्चागुम्बा हिउँदमा किराको रुपमा रहन्छ भने बर्खामा च्याउका रुपमा रहने प्रजाति हो । अनौठो जैविक प्रजाति भएको र जुन कृमि (झिँगा जातिको लार्भा) र ढुसे (मशरूम जातिको फफूंद) को संयोगबाट बन्छ । ‘हेर्दा उस्तै देखिएको छ,’ डिभिजन वन अधिकृत भट्टराईले भन्नुभयो, ‘यसको प्रयोगशाला पठाएपछि मात्र थाहा हुने हो अहिले नै के हो भन्न सकिदैन ।’ यसका सयौं प्रजाति हुने भएकाले पनि के हो भन्न नसकिने उहाँले बताउनुभयो ।

यार्चा पनि वैशाखदेखि असारसम्म पाइन्छ । जानकारहरुका अनुसार यार्चागुम्बा ३ हजार मिटर भन्दा माथि उचाईमा पाइन्छ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न सुरु गर्छ, । त्यही समयमा पुतलीहरुले फुल पार्न थाल्छन । सोही पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमिन मुनि पुग्छ । उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमिन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ ।

यार्चाको जमिन मुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ । रम्भा गाउँपालिकाका रोजगार संयोजक तथा वन तथा वातवारणका विद्यार्थी रविन महर्जनका अनुसार उचाई अनुसार नमिले पनि प्रजाति उस्तै र यार्चाकै साइज र रंग भएकाले अनुसन्धानका लागि पठाउने तयारी गरिएको छ । यार्चागुम्बामा वनस्पति र जीव दुबै हुन्छ । अहिले रिमिघामा भेटिएका वनस्पतिमा पनि उस्तै देखिएको उहाँको भनाई छ ।  


प्रतिक्रिया