यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगलमा प्रवेश निषेध

जेष्ठ १९, २०८२ | पाल्पा

यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगल पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । यार्चा प्रजातिको जडीबुटीको प्रयोगशाला परीक्षणका क्रममा रहेकाले रिमिघा जंगल क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । 

खाल्डा खन्ने क्रममा पोसपाखा सामुदायिक वनको जंगल क्षेत्रमा यार्चागुम्बा प्रजातीको जडिबुटी भेटिएको थियो । त्यसको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मको लागि जंगल क्षेत्रमा प्रवेश नगर्नु, नगराउन सार्वजनिक सूचना जारी गरेको हो । 

सार्वजनिक सूचनाको बर्खिलापमा गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै प्रजातिको वनस्पति भेटिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

सो जडीबुटीको तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि बल्ल के रहेछ निश्चित हुने उहाँले बताउनुभयो । 

रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाईमा रहेको छ । ‘अहिले देख्दा यार्चा जस्तै देखिएको छ,’ डिभिजन वन अधिकृत भट्टराईले भन्नुभयो, ‘प्रयोगशालाको रिपोर्ट आएपछि बल्ल के रहेछ भन्ने थाहा हुन्छ ।’ यार्चाको जमिन मुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ । उचाई अनुसार नमिले पनि प्रजाति उस्तै र यार्चाकै साइज र रंग भएकाले अनुसन्धानका लागि पठाएको उनले बताए । यार्चागुम्बामा वनस्पति र जीव दुबै हुन्छ ।


प्रतिक्रिया