दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

जेष्ठ २०, २०८२ | सिरहा
सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने कार्य भइरहेको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुनेगरी पर्खाल निर्माणको काम भइरहेको हो ।
मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा लहानस्थित पर्यटन विकास कार्यालयबाट उपभोक्ता समिति मार्फत् दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको हो ।
उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवका अनुसार डेढ सातादेखि यो काम भइरहेको छ । यो बस्ती र मन्दिरबीचमा फराकिलो बाटो थियो । सोही बाटो भएर दलित बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए । तर, यो बाटोको बीच भागबाटै निकै साँघुरो हुनेगरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ ।
यस्तै, दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र राम एकवाल महराको घर छ । यो बस्तीको मूल बोटामा जान उनीहरुको घर अगाडिको बाटो हुँदै जानुपर्छ । तर, मन्दिरको पर्खाल हालिएको ठाउँदेखि घरसम्मको जग्गा राम एकवालले नै भोगचलन गर्दै आएका छन् । सो जग्गा आफ्नो निजी रहेको उनको दाबी छ । ‘मेरो घर अगाडिको जग्गा मेरो निजी हो, सार्वजनिक जग्गामा पर्खाल लगाउने र निजी जग्गाबाट बाटो दिने कुरा भएन, यो त गाउँका अगुवाहरुले आफै सोच्नुपर्ने हो,’ राम एकवालले भने, ‘हामीलाई गरीब दलित भनेर यहाँ हेप्ने काम भएको छ ।’

सो गाउँमा १० घर चमार समुदायका परिवार बसोबास गर्छन् । यसमध्ये खासगरी ६ दलित घरपरिवार पूर्ण रुपमा प्रभावित बनेका छन् । मन्दिरको पर्खाल बनिसकेपछि स्थानीय रामशंकर महरा, शिवु महरा, शिवराम महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट अर्को बाटोमा निस्किने बाटो नै बन्द हुनेछ ।
जेठ १३ मा पर्खाल निर्माणका लागि खाल्डो खन्ने क्रममा त्यहाँका दलित समुदायले रोक्ने प्रयास पनि गरेका थिए । तर, प्रहरी लगाएर आफूहरुलाई रोक्ने काम भएको स्थानीय अरुण महराले बताए । ‘यहाँका ठूलाठालाहरुले मनलाग्दी गर्न खोजेपछि हामीले रोक्ने प्रयास गर्यौं, तर प्रहरी बोलाएर जबर्जस्ती खाल्डो खनियो,’ उनले रेडियो कान्तिपुरसित भने, ‘जति गुहारे पनि हामी गरीब दुखियाको कुरा कसैले सुनेनन् ।’

आफूहरुलाई फोहरी र अछूत भनेर पटकपटक हेप्ने काम हुँदै तथा आफूहरुकै कारण मन्दिरमा यसरी पर्खाल लगाउने कार्य भइरहेको स्थानीय कविता महराको दुखेसो छ । ‘हामी दलित र कमजोर छौं, त्यसैले हामीसँग यस्तो गरिँदैछ,’ उनले सुनाइन्, ‘दलित र कमजोर नभएको भए सायद आज यस्तो दिन आउने थिएन ।’ पर्खाल लगाउने कामका अगुवा मध्येका स्थानीय ७० वर्षीय भोगेन्द्र साहले पनि उनीहरुले जथाभावी फोहोर गर्ने गरेकोले पर्खाल हालेर संरक्षण गर्न लागेको तर्क गर्छन् ।
वडाध्यक्ष रामबाबु यादवले भने मन्दिरको जग्गा नापनक्सा गरेरै पर्खाल निर्माण भइरहेको दाबी गर्नुभयो । त्यहाँ गाउँब्लकको मन्दिरको ६–७ फिट जग्गा रहेको र १२ फिटसम्मको बाटो बन्नसक्ने उहाँको भनाइ छ । तर, मन्दिरको पश्चिम छेउको बाटोको समस्याका विषयमा भने उहाँले स्पष्ट जवाफ दिनु भएन । बाटो नै ब्लक भयो नि ? भन्ने प्रश्नमा उहाँले विस्तारै समाधान गर्ने बताउनुभयो ।