जटिल रोगका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक ५ हजार भत्ता दिने

असार २, २०८२ | मकवानपुर

आर्थिक अवस्था कमजोर भएर मृगौला प्रत्यारोपण, डायलासिस सेवा लिइरहेका, क्यान्सर र मेरुदण्डको पक्षघात भएका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

जटिल प्रकृतिका रोग लागेकाहरुलाई औषधि उपचारमा सहयोग पु¥याउने र सहज जीवनयापनमा मद्दत पु¥याउने उद्देश्यका साथ पालिकाले मासिक निर्वाह भत्ता उपलब्ध गराउन लागेको हो । मनहरी गाउँपालिकाको सोमबार भएको गाउँसभाको १७ औं अधिवेशन नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सो जानकारी दिनुभएको हो । गर्भवतीको आधारभुत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र सतप्रतिशत आमाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराइ पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गरिनुका साथै कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपांग भएकाको लागि एम्बुलेन्स सेवामा छुट दिइने भएको छ ।

मनहरीले सबै वडाको घरघरमा शुद्ध खानेपानी पु¥याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकरीयालगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मुलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गरिने भएको छ ।

पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको उचित मार्गदर्शनका लागि कानुन तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।   


प्रतिक्रिया