पाल्पामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

असार ३, २०८२ | पाल्पा

पाल्पाको पूर्वखोला गाउँपालिका–५, बीरकोटमा भएको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जिप दुर्घटना भएको हो । 

दुर्घटनामा सवारी धनी बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११, मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । 

ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । 

खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी नायब निरीक्षक र प्रहरी चौकी ताँहुबाट खटिएका प्रहरी तथा स्थानीयले घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया