पाल्पामा जिप दुर्घटनामा मृत्यु भएका थप एकको सनाखत

असार ३, २०८२ | पाल्पा
पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
दुर्घटनामा बगनासकाली गाउँपालिका–१, घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र स्याङ्जाको गल्याङ्ग नगरपालिका–७ घर भई बुटवल–११ बस्ने ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको हो ।
आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सुनारको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी नायब निरीक्षक र प्रहरी चौकी ताँहुबाट खटिएका प्रहरी तथा स्थानीयले घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए ।