जटिल रोगका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक भत्ता दिने

असार ३, २०८२ | मकवानपुर
मकवानपुरको मनहरी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक भत्ता दिने भएको छ । आर्थिक अवस्था कमजोर भएर मिर्गौला प्रत्यारोपण, डायलाइसिस सेवा लिइरहेका, क्यान्सर र मेरुदण्डको पक्षघात भएका बिरामीलाई मनहरी गाउँपालिकाले मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने भएको हो ।
जटिल प्रकृतिका रोग लागेकाहरुलाई औषधि उपचारमा सहयोग पुर्याउने र सहज जीवनयापनमा मद्दत पुर्याउने उद्देश्यका साथ पालिकाले मासिक निर्वाह भत्ता उपलब्ध गराउन लागेको जनाएको हो ।
मनहरी गाउँपालिकाको सोमबार भएको गाउँसभाको १७ औं अधिवेशन (नीति तथा कार्यक्रम)मा गाउँपालिकाले अध्यक्ष रञ्जन कालाखेतीले यस्तो जानकारी दिनु भएको हो ।
गर्भवतीको आधारभूत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र सत्प्रतिशत आमाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराइ पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गरिनुका साथै कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपांग भएकाको लागि एम्बुलेन्स सेवामा छुट दिइने भएको छ ।
मनहरीले सबै वडाको घरघरमा शुद्ध खानेपानी पुर्याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकरीया लगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मुलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गरिने भएको छ ।
पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको उचित मार्गदर्शनका लागि कानून तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाका जोसुकै व्यक्तिको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्ष उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसको आधारमा मृत्यु संस्कारमा सहयोग पुर्याउन २० हजार रुपैयाँ सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।