झापामा पाँच दिने भाषण तथा उद्घोषण कला सम्पन्न

असार ३, २०८२ | झापा
झापाको शिवसताक्षी नगरपालिकामा रहेको श्री बोलोचोक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाँच दिने भाषण तथा उद्घोषण कला तालिम सम्पन्न गरेको छ । भाषण तथा उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास, साथै माइनुट लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
समापन समारोहमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । तालिमबाट सहभागी प्रशिक्षार्थीहरूले बोल्ने र लेख्ने सीपमा उल्लेख्य सुधार गरेको विश्वास नगरपालिकाका प्रमुख थोप्राको छ ।
मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महिलाको उपस्थिति न्यून रहेको जनाउदै थोप्राले तालिमले महिलालाई नेतृत्व तहमा पु¥याउन सहयोगी बन्ने बताए ।
सो नगरपालिका ४ का आदिवासी जनजाति तथा विभिन्न समुदायका महिला र बालबालिकाहरू तालिमबाट लाभान्वित भएको बताउँदै उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।
सो अवसरमा सहकारीका अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले महिलाहरूको सीपमा वृद्धि विकास गरी आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमलाई प्रशिक्षक लीला अनमोल र देवेन्द्र प्रसाईंले सहजीकरण गरेका थिए ।
तालिमलाई थप आकर्षित बनाउन विभिन्न खेलसंगै गीत, नृत्यका कार्यक्रम पनि राखिएको थियो ।रेडियो विराटकी प्रबन्ध निर्देशक समेत रहेकी प्रशिक्षक लीला अनमोलले आफूले लेखेको ‘अन्तिम कुमारी रात’ नामक पुस्तक मायाको चिनो स्वरूप उत्कृष्ट सहभागी तथा अतिथिहरूलाई प्रदान गरेकी थिइन् ।