पर्साको पटनीमा सवारी दुर्घटना हुँदा एक भारतीयको मृत्यु

असार ८, २०८२ | पर्सा
पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भारत बिहारका ३८ वर्षीय नरेश साह वर्णवालको मृत्यु भएको हो ।
गएराति महुवनबाट डकैलातर्फ जाँदै गरेको भारतीय नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोकिँदा नरेश घाइते भएका थिए ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन जलेर नष्ट भएका छन् ।
दुवै सवारी सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो । मोटरसाइकलमा पछाडि सवार बहुदरमाई–५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भएका छन् । सुमो चालक फरार रहेको र उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।