मायादेवीका मुख्य सडकमा बुद्धको मूर्ति स्थापना

असार १७, २०८२ | तिलोत्तमा
रुपन्देहीको मायादेवी गाउँपालिकाले लुम्बिनी जाने मुख्य सडकका विभिन्न स्थानमा बुद्धको मूर्ति स्थापना गरेको छ । पालिकाको हाटीबनगाईदेखि महजिदिया चोकसम्म ४१ वटा मूर्ति राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर नवराज ढुंगानाका अनुसार ४८ लाख रुपैयाँको लागतमा ती मूर्ति राखिएको हो । बुद्ध जन्मस्थल लुम्बिनी जाने बाटो पालिका अन्तर्गत पर्ने भएकाले लुम्बिनीको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न मूर्ति राखिएको गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले बताउनुभयो ।
पालिकाको नाम मायादेवीसँग जोडिएकोले पनि लुम्बिनीप्रति पालिकाको दायित्व रहेकाले त्यो पूरा गर्ने प्रयास गरिएको उहाँको भनाई छ ।
मुख्य सडकका विभिन्न स्थानमा बुद्धको मूर्ति राखिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी आर्थिक वर्षमा मुख्य चोकमा हाईमास्ट लाईट जडान गरी उज्यालो सडक बनाउने योजना बनाएको चौधरीले जानकारी दिनुभयो ।