बहुउद्देशीय भ्यू टावरमा पूर्वाधार बनाउन तिलोत्तमालाई मन्त्रालयको सहमति

असार ३१, २०८२ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाउन अनुमति पाएको छ । तिलोत्तमा–१ स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय भ्यू टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले सहमति दिएको हो । 

मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानूनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो । तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन् । 

लागत साझेदारी भईसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानूनी अड्चन आउन सक्ने भएकोले नगरपालिकाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो । पर्यटन मन्त्रालयले यही असार २९ गते सचिवस्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानूनी अड्चन फुकेको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

सो परिसरमा पर्यटन पूर्वाधार बनाउन पालिकाले चालू आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि थप एक करोड विनियोजन गरी नीति तथा कार्यक्रम र बजेटबाट पास गरेको खाँणले बताउनुभयो । 

नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बहुउद्देशीय भ्यूटावर सञ्चालनको अनुमतिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राई रोजगारीको श्रृजनासँगै नगरपालिकालाई आर्थिक रुपमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।


प्रतिक्रिया