ग्रामीण विकास लघुवित्त वित्तको मर्जर प्रस्ताव पारित गर्न प्रहरी तैनाथ

असार ३१, २०८२ | बुटवल

सरकारी स्वामित्व रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद अधिकांश शेयर सदस्यलाई नै सहभागी नगराई शनिबार बुटवलमा साधारण सभा गरेको छ । 

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि बुटवलस्थित पाम इन्टरनेसनल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरेर साधरणसभा गरेको हो । 

सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको मिलेमतोमा अधिकांश शेयर सदस्यलाई सहभागी नै नगराई औपचारिकताका लागि मात्रै साधरणसभा गरिएको कर्मचारी संगठनको आरोप छ । 

साधारणसभा स्थल बाहिर कर्मचारी संगठनले कार्यक्रमस्थलमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । विरोधका बाबजुद अवैध रुपमा साधारण सभा गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले बताउनुभयो । 

साधरणसभामा करिब सय जनाका लागि कुर्ची राखिएको भए पनि अधिकांश कुर्सी खाली थिए । कर्मचारीमध्येका शेयर सदस्यलाई प्रवेशमा प्रहरीले पूर्ण रोक लगाएको थियो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था राष्ट्रिय कर्मचारी संगठनले समाज लघुवित्त वित्तीय संस्थासँग अवैधानिक रुपमा स्वार्थका लागि मर्जरमा जान खोजेको भन्दै विरोध गर्दै आएको छ ।

दशौँ साधारण सभाको विशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाम्भे प्रस्ताव पारित गरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले २०८१ फागुन १७ गते समाज लघुवित्त वित्तीय संस्थासँग एकीकरण गर्ने सम्झौता गरेको थियो । तर, समझदारीबारे शेयर सदस्य र कर्मचारीलाई भने साधारण सभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो ।

यता प्रमुख कार्यकारी अधिकृत कटुवालले भने कर्मचारीको विरोधका कारण प्रहरीलाई सुरक्षाका लागि खबर गरेको बताउनुभएको छ । ग्रामीण लघुवित्त वित्तीय संस्थामा सरकारसहित विभिन्न ७० संघसंस्था र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेको छ । जसको ९८ लाख २५ हजार शेयर कित्ता रहेको छ ।


प्रतिक्रिया