तमोर, घुन्सा र हेल्लोक खोलामा आएको बाढीले बेलिब्रिज बगायो

श्रावण ७, २०८२ | ताप्लेजुङ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर–६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ । तमोर नदी, घुन्सा र हेल्लोक खोलामा आएको बाढीले सो पुल बगाएको हो ।
सो पुल रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि करीब पाँच करोड रुपैयाँ लागतमा बनाएको थियो । रेमिट हाइड्रोका प्रबन्धक मुकुन्द पोख्रेलका अनुसार तमोर नदी, घुन्सा र हेल्लोक खोलामा आज बिहान ठूलो बाढी आएको थियो ।
आज बिहान ४ बजेतिर आएको बाढीले सो बेलिब्रिज बगाएको वडा नम्बर–६ का वडाध्यक्ष पेम्बाटाँसी शेर्पाले जानकारी दिनुभयो । लेलेपमा यसअघि पनि खोलामा आएको बाढीले विद्युतको गृहमा क्षति गर्दा उत्पादन बन्द भएको थियो ।
सो क्षेत्रमा सबैतिर टेलिफोन सम्पर्क नहुने भएकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको वडाध्यक्ष पेम्बाटाँसीले बताउनुभयो ।
स्थानीय ग्याबु शेर्पाका अनुसार लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिसहरु भने भाग्न सफल भएका छन् । उनका अनुसार यो क्षेत्रमा हिजो बेलुकादेखि नै वर्षा भइरहेको छ । बेलिब्रिज बगाएपछि आवतजावत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।