दोर्दी गाउँपालिकामा सबैको निःशुल्क स्वस्थ्य बीमा सुरु
श्रावण ११, २०८२ | लमजुङ
लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना हरेक नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।
गाउँपालिकाले पालिका भित्रका ४ हजार २ सय २५ घरधुरीका नागरिकको स्वास्थ्य बीमा गर्न सुरु गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं. १ देखि ४ सम्म निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको र बाँकी वडामा केही दिनमा सुरु गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकी रहेका वडामा पनि साउन महिनाभित्र काम सम्पन्न गर्ने तयारी भएको छ । दोर्दी गाउँपालिकाको गत असार ७ गते प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिका भित्रका सबै नागरिकको बीमा गर्ने योजना अघि सारिएको थियो । पालिका भित्र सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनाबाट प्राप्त हुने रोयल्टीलाई आधार मानी बीमा कार्यक्रम अघि सारिएको हो ।