वीपी प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारी आन्दोलित

श्रावण २०, २०८२ | सुनसरी

लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै सनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फार्मेसीमा कार्यरत कर्मचारी विरोधमा उत्रिएका छन् । सात महिनादेखि तलब नपाएको विरोधमा उनीहरुले फार्मेसी सेवा ठप्प पारेका छन् । 

उनीहरुको विरोधका कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन् । विगत ७ महिनादेखि पाउनुपर्ने तलब र सेवा सुविधा नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी सहित २२ जना कर्मचारी धर्नामा छन् । 

चौबिसै घण्टा सेवा उपलब्ध हुनुपर्ने फार्मेसीबाट सेवा नपाउँदा सेवाग्राहीले निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य भएका छन् । प्रतिष्ठानको फार्मेसीमा औषधि ब्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारीहरु केटीएम सेक्युरिटी मार्फत भर्ना भएका हुन् ।

यसैबीच प्रतिष्ठानले औषधि आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानूनी कार्य गरेको जनाएको छ । संवेदनशील क्षेत्रको सेवा बन्द गर्नु कानूनको उल्लङ्घन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

२०७० सालमा तीन वर्षका लागि सम्झौता गरिएको सो कम्पनीसँग हालसम्म सेवा निरन्तरता दिइँदै आएको तर, कुनै पूर्व जानकारी नदिई फार्मेसी सेवा बन्द गरिएको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ । 

फार्मेसीमा कार्यरत जनशक्तिको लापरवाहीका कारण संस्थाको छवि धूमिल भएको भन्दै प्रतिष्ठानले चिन्ता व्यक्त गरेको हो । सम्झौताका शर्तअनुसार आपूर्ति गरिएका कर्मचारीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेमा कम्पनीले तत्काल नयाँ व्यवस्था गर्नुपर्ने भएपनि केटीएमले त्यसो नगरेको प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया