पहिरो पन्छाउन दिनभर लाग्ने

आश्विन ८, २०८२ | काठमाडौं

चितवनस्थित मुग्लिन–नारायणघाट सडक आज खुल्ने सम्भावना न्यून देखिएको छ ।

तुइन खोला पुल नजिकै गएको पहिरो पन्छाउन समय लाग्ने भएकाले आज खुल्ने सम्भावना कम भएको हो ।

हिजो अपरान्ह सो सडकखण्डमा पुन पहिरो गएपछि दुईतर्फी यातायात आवागमन बन्द छ ।

निरन्तर रुपमा पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

साथै, सो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गर्दै आएको छ ।

सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले पूर्वमा महोत्तरीको बर्दिवास र पश्चिममा रूपन्देहीको बुटवलबाटै वैकल्पिक मार्ग अपनाउन चितवन प्रशासनले अपिल गरेको हो ।

यस्तै, मकवानपुरको हेटौंडा, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैंडाकोट, तनहुँको खैरेनीटार र धादिङको नौबिसेबाट वैकल्पिक रूट अपनाउन प्रशासनको सूचनामा उल्लेख छ ।

सो सडकमा गत शुक्रबार साँझ पहिरो खस्दा ४५ घण्टासम्म यातायात ठप्प भएको थियो ।

त्यसपछि आइतबार दिउँसो खुलेको राजमार्ग त्यस यता पटक पटक अवरुद्ध हुँदै आएको छ । 


प्रतिक्रिया