विगतको तुलनामा आयात अत्यधिक बढ्यो : भन्सार विभाग

आश्विन ८, २०८२ | काठमाडौं

जेनजी आन्दोलनले भदौको अन्तिम साता मुलुकमा ठूलो राजनीतिक उथलपुथल भएपनि विगतको तुलनामा आयात अत्यधिक बढेको भन्सार विभागले जनाएको छ ।

असोजको सुरुवातसँगै दसैँको चहलपहलसमेत सुरु भइसकेको अवस्थामा भदौमा आयात विगतको तुलनामा अत्यधिक बढेको विभागको तथ्यांकले देखाएको हो ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन–भदौ) को अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांक अनुसार नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको छ ।

यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा १६ दशमलब २३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको थियो ।

भदौमा मात्रै आयातको तथ्यांक अझ बढी छ । यस वर्ष भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपियाँको वस्तु आयात भएको देखिन्छ ।

जबकि गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो ।

भदौमा आयात गत वर्षको तुलनामा करिब २८ अर्ब रुपियाँले बढेको देखिएको हो । यस्तै, निर्यात व्यापारमा पनि चालु वर्ष अत्यन्त ठूलो सुधार देखिएको छ ।

गत वर्षको दुई महिनाको तुलनामा वस्तु निर्यात ८८ दशमलब ५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ ।

गत वर्ष भदौसम्म नेपालबाट २५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो ।


प्रतिक्रिया